बँदेलले बाली नष्ट पारेपछि किसान चिन्तीत

बुद्धि पुन, रेडियो राप्ती
सल्यान, २० साउन (जागरण) । सल्यानको पश्चिमी क्षेत्रमा बँदेलले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाडकुपिण्डे नगरपालिका ९ गिठाचौरका १ सय ४५ घरपरिवारले लगाएको धान, मकै, कोदो लगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्तित भएका हुन् ।
गाउँनजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको हो ।
भर्खर लगाएको धान तथा मकै बाली बँदेलले सखाप पारेको स्थानीय कृषक डिलबहादुर बोहराले बताउनुभयो ।
वर्षभरि दुःख गरी लगाएको बाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको उहाँको भनाइ छ ।
विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको अर्का स्थानिय यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।
बँदेलले क्षति पुर्याउन थालेपछि त्यहाँका ४० प्रतिशत जमिन बाँझै रहेको कृषकहरुको भनाई उद्धृत गर्दै रेडियो राप्ती सल्यानले समाचार पठाएको छ ।