जाजरकोट, २० साउन (जागरण) । जाजरकोटको भेरी नगरपालिका–३, ठाँटी बजारमा आज बिहान गएको पहिरोमा परि ८ जनाको मृत्यु भएको छ ।
पहिरोले स्थानीय तिर्थबहादुर बोहोरा र गोपाल सुनारको घरहरु पुरिँदा ८ जनाको मृत्यु भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोहराको घरमा भाडा गरी बस्ने लालबहादुर लोहारका श्रीमती र तीन छोरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
लालबहादुर भने सामान्य घाइते हुनुभएको छ । उहाँकी श्रीमती सितली लोहार, छोरीहरु १० वर्षकी रञ्जना, सात वर्षकी मनिषा र तीन वर्षकी भगवतीको मृत्यु भएको छ । तिर्थराज बोहराकी आठ वर्षीय छोरी नग्मा बोहराको पनि घटनास्थलमा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै गोपाल सुनारको घरमा भाडा गरी बस्ने माया परियारका दुई भाइहरुको पनि घटनास्थलमा नै मृत्यु भएको छ । मायाका भाइ दशरथ परियारको शव फेला परेको छ भने अर्का भाइको शव अझै फेला नपरेको प्रहरीले जनाएको छ ।
त्यस स्थानमा फेरि पानी परे बस्ती नै पहिरोमा पर्ने सम्भावना रहेकाले बस्ती स्थानान्तरणको लागि पहल भैरहेको प्रशासनले जनाएको छ ।
यसैबिच, जाजरकोटको भेरी नगरपालिकाले मृतकका परिवारलाई काजकिरिया खर्चबापत ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको आजको बैठकले काजकिरियाको लागि परिवारलाई ३० हजार दिने निर्णय गरेको हो ।
यस्तै घाइतेको उपचारका लागि तत्काल २० हजार रुपैँया उपलब्ध गराउने पनि निर्णय गरेको छ । नगरपालिकाले पहिरो पिडीतका लागि आवश्यक राहत उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसंग अनुरोध गरेको छ ।