नयाँ शक्ति जुम्लाका पूर्वसंयोजक मृत फेला

जुम्ला, २१ साउन (जागरण) । नयाँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापा मृत अवस्थामा फेला पर्नुभएको छ । हिजो दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँड्नुभएका उहाँ जुगाड खोलामा मृत फेला पर्नुभएको हो । उहाँको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
हाल केन्द्रीय परिषद सदस्यसमेत रहनुभएका बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले गर्नुभएको छ । उहाँले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गर्नुभयो । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ ।
प्रहरीले सनराइज होटल सञ्चालकसहित दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । जुम्ला प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।