बालिका बलात्कारको आरोपमा सौतेनीबाबु पक्राउ

सुर्खेत, २१ साउन (जागरण) । सुर्खेतमा ११ बर्षिया बालिकालाई बलात्कार गरेका आरोपमा एकजना पक्राउ परेका छन् । भेरीगंगा ५ का ३० बर्षीय लोकबहादुर दंगाली पक्राउ परेका हुन् ।
बालिकाकी आमा उपचारका लागि अस्पताल गएको समयमा उनले शनिबार बालिकालाई बलात्कार गरेको प्रहरीको भनाई छ । प्रहरीले बलात्कारको आरोपमा हिजो मात्र बालिकाका सौतेनी बुबा दंगालीलाई पक्राउ गरेको हो ।
बालिकाले आमालाई फोन गरेपछि यो घटना बाहिर आएको थियो । बालिकाको पेट दुख्ने समस्या भएकाले उपचारका लागि वीरेन्द्रनगर ल्याइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख मधुसुधन न्यौपानेले जानकारी दिनुभयो ।
यसैबिच रुकुम पश्चिममा बलात्कारको आरोपमा पक्राउ परेका एक जनाले प्रहरी हिरासतभित्रै आत्महत्याको प्रयास गरेका छन् ।
रुकुमको आठबिसकोट नगरपालिकाकी एक महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका आठबिसकोट नगरपालिका–९ का १६ वर्षीय दीपक बुढाथोकीले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेका हुन् ।
आरोपी बुढाथोकीले अत्महत्या प्रयास गर्दा घाइते भएर उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।