ठूलीभेरीमा पानीकाे सतह एक्कासी बढेपछि स्थानीय त्रसीत

डोल्पा, २१ साउन (जागरण) । अविरल वर्षाका कारण डोल्पा सदरमुकाम दुनै भएर बग्ने ठुलीभेरीमा १२ वर्षयताकै ठूलो बाढी आएको छ । पानीको सतह एक्कासी बढेपछि स्थानीय वासीन्दा त्रसित भएका छन् ।
भेरी नदीको किनारामा रहेका करिब तीन दर्जनभन्दा धेरै घर, दुई दजर्न भन्दा बढी शौचालय र दुई दर्जन बढी टहरा जोखिममा परेका छन् । हिउँदको समयमा भेरी किनार मिचेर बनाइएका घर, टहरा र शौचालय भेरीको बहाव बढेसँगै उच्च जोखिममा परेका हुन् ।
सदरमुकाममा ३ सय ५० भन्दा बढी घर छन । जोखिममा रहेपनि हालसम्म कुनैपनि खतराको पूर्व सूचना दिने यन्त्र तथा पूर्व सूचना केन्द्र भने राखिएको छैन ।
भेरीको पानीले केही मिनेट मात्र धार परिवर्तन गरेमा ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपर्ने स्थिति भए पनि सरकारले कुनै चासो नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । भेरीको बहाव बढेसँगै दुनै बजारबाट जिल्लाअस्पताल जाने बाटो समेत बन्द भएको छ ।
विपद व्यबस्थापनको लागी आवश्यक सामग्री माग गरेको महिनौँ भएपनि हालसम्म मन्त्रालयबाट सामग्री जिल्लामा आउन नसेको जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।