हामीलाई विकल्प चाहियोः फुटपाथ व्यापारी

सुर्खेत, ६ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका बजार क्षेत्रका विभिन्न स्थानमा फुटपाथ व्यापार गर्दै आएका व्यापारीहरुले वैकल्पिक बाटोको माग गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
नगरपालिकाले केही समय अगाडिदेखि अव्यवस्थित रुपले बजार क्षेत्रमा राखिएका फुटपाथ पसल हटाउन निर्देशन दिएपछि उनीहरुले यस्तो माग राखेका हुन् ।
वर्षौँदेखि आफुहरुले सहज रुपमा व्यापार गर्दै आएको स्थानबाट एक्कासी नगरले हट्न भनेपछि व्यापारका लागि वैकल्पिक बाटो खोजिदिन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

फाइल फाेटाे

व्यापारीहरुले आफुहरुको अन्य कुनै पेशा व्यवसाय नभएको भन्दै कमाई गरी खाने बाटो नखोसिदिन नगरपालिकालाई आग्रह गरेका छन् ।
यता नगरपालिकाले भने व्यापारीहरुका लागि नयाँ ठाउँको व्यवस्था गर्नका लागि आन्तरिक छलफल भईरहेको बताएको छ ।
नगरपालिकाका अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले अब बस्ने नगर परिषद्ले पनि उनीहरुका लागि निश्चित स्थान तोक्ने जानकारी दिनुभयो ।