अस्पताल बन्द हुँदा बिरामीको बिजोग

रुकुम, २३ साउन (जागरण) । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको रुकुम (पश्चिम)को चौरजहारी अस्पताल चार दिनदेखि बन्द हुँदा उपचार सेवा प्रभावित भएको छ ।
तोडफोडबाट अस्पतालमा ठुलो क्षति पुगेका कारण सेवा प्रवाह गर्ने अवस्था नरहेको डा. कालेब बुढाले बताउनुभयो । अस्पतालको सेवा प्रभावित भएपछि अस्पताल भर्ना भएका बिरामीहरुको अवस्था नाजुक बन्दै गएको छ ।
भर्ना भएका दुई दर्जन बिरामी मध्ये अहिले १० जना मात्रै बिरामी वार्डमा रहेका छन् । उनीहरुलाई नियमित औषधि बाहेक चेकजाँच गरिएको छैन ।
पत्थरीको समस्या भएर अस्पतालमा उपचाररत जाजरकोट भेरी नगरपालिका–१३ कुदुकी यसोधा मल्ल रोकायको आईतबार मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।
डाक्टरको लापरवाहीका कारण यसोधाको मृत्यु भएको भन्दै उहाँका आफन्तले तोडफोड गरेपछि आइतबारदेखि अस्पतालमा उपचार सेवा बन्द छ । मृतक यसोधाको शव समेत आफन्तले बुझेका छैनन् ।
मृतकका आफन्तले छोराछोरीको पालन पोषण र पठन पाठनको जिम्मा अस्पतालले लिनुपर्ने माग राखेका छन् । अस्पतालले भने घटनाको छानबिन गरी दोषि देखिए मात्र क्षतिपूर्ति दिन सकिने बताएको छ । आजसम्म तीन पटक भएको वार्ता आ–आफ्नै अडानका कारण बिना निष्कर्ष टुंगिएका छन् । आक्रोशित मृतकका आफन्तहरुले अस्पतालमा गरेको तोडफोडको कारण ३५ लाख बराबरको क्षेति भएको अस्पतालले जनाएको छ ।