बाणिज्य बैँकमा भिडभाड र जनतालाई सास्ती कहिले सम्म ? (फाेटाहरू)

चाँदनी कठायत । सुर्खेत, ६ चैत (जागरण) । शिक्षक सेवा आयोगको तयारी गर्न सुर्खेत आएका हुम्लाका धनलाल देवकोटा विहान १० बज्नासाथ राष्ट्रिय बाणिज्य बैँक सुर्खेतमा पुग्नुभयो । त्यसबेला सम्म बैँकमा रकम निकाल्ने र जम्मा गर्नेको भिंड लाइनमा परिणत भइसकेको थियो ।
धेरै जनाको भिंडभित्र देवकोटाले पनि एउटा ठाउँ कव्जा गरी लाइनमा ठाडिनुभयो । बल्ल बल्ल देवकोटाको पालो आयो, त्यतिबेला सम्म दिउँसोको २ बजिसकेको थियो ।
उहाँले भन्नुभयो, ‘शिक्षक सेवा आयोगको तयारी गर्ने ठाउँमा शुल्क तिर्नका लागि पैसा निकाल्न बैँकमा विहान १० बजे आएँ तर अहिले दिउँसो २ बजेमात्रै काम सकियो ।’ धनलालको मात्रै होइन राष्ट्रिय बाणिज्य बैँकको सुर्खेत शाखामा काम लिएर जाने जो कोहीको दुखेसो यस्तै हो ।
जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नुपर्ने सरकारको दायित्व हो । अर्कोतर्फ सरकारी स्वामित्वमा रहेका निकायहरुबाट पनि सर्वसाधारणले सजिलै सुविधा पाउनु पर्दछ । तर सुर्खेतमा सर्वसाधारणले वैंकिङ सेवा लिन सास्ती खेप्दै आएका छन् ।
राष्ट्रिय वाणिज्य वैंकमा रकम निकासा र जम्मा गर्नका लागि सर्वसाधारणले लामो लाईनमा घण्टौँसम्म कुर्नुपर्ने बाध्यता छ । सेवाग्राहीको अत्यधिक चाप तर कर्मचारी थोरै हुँदा राष्ट्रिय वाणिज्य वैंकको शाखा सुर्खेतमा सेवा प्रवाह गर्न कठिनाई भएको छ ।

वैंकमा सेवाग्राहीको भिडभाडका कारण ज्येष्ठ नागरिक अशक्त नागरिकलाई समेत घण्टौँ कुर्नुपर्दा समस्या हुने गरेको गुनासो सुनाउने गरेका छन् ।
वैंकमा सेवा ग्राहीको भिड थेगिनसक्नु हुन्छ । हरेक दिन वैंकमा ग्राहकको लाईन देख्दासमेत यस्को विकल्प खोजिएको छैन । तर वैंकको नेतृत्वले यसबारेमा कुनै चासो नदेखाएको सिम्ता गाउँपालिका वडा नम्बर २ सुर्खेतका वडाध्यक्ष हरिबहादुर सिंहले बताउनुभयो ।
सर्वसाधारणले सास्ती वेहोरिरहँदा वैंक प्रशासनले भने कर्मचारी र श्रोत साधनको अभाव देखाउने गरेको छ ।
वैंकका प्रवन्धक होताराम योगीले बैँकमा भएका कर्मचारीले भएका श्रोत साधनको अधिकतम् प्रयोग गरेर काम गरिरहेको बताउनुभयो । ‘म बैँकको प्रवन्धक विहान ठीक समयमै उपस्थित हुन्छु र दिनभर काममा खटिरहन्छु उहाँले भन्नुभयो, हामीले चाहेर यस्तो भएको होइन ।’
योगीले वैंकमा ग्राहकले सास्ती पाएको स्विकार गर्दै अबको केही महिनाभित्र सेवा सहज हुने दाबी गरेको छ ।
सरकारी स्वामित्वमा स्थापित नेपालकै दोश्रो पुरानो र ठुलो वाणिज्य वैंकबाट सेवाग्राहीले सहज रुपमा सेवा पाउने आशा गरेका हुन्छन् तर सेवा ग्राहीको अत्याधिक चाप हुँदा पनि सम्बन्धित निकायको ध्यान यसतर्फ नजाँदा सेवाग्राही मर्कामा परेका छन् । विभिन्न माध्यमबाट सेवाग्राहीहरुले सुर्खेतमा वाणिज्य वैंकको अर्को शाखा स्थापना गर्न माग समेत गरेका छन् ।

फोटाहरुः बालकृष्ण सुनारबाट