रुकुम, २५ साउन (जागरण) । रुकुम पश्चिमको चौरजहारी अस्पताल प्रशासन र मृतकका आफन्तबीच आज सहमति भएको छ । सहमतिपश्चात् ६ दिनपछि आफन्तले मृतकको शव बुझेका छन् । आफन्तले शव बुझेसँगै अस्पतालको सेवा पनि शुरु भएको छ ।
उपचारको क्रममा गत श्रावण २० गते मृत्यु भएकी जाजरकोट भेरी नगरपालिका १३ कुदु निवासी यशोदा मल्ल रोकायको शव पोष्टमार्टमपछि आफन्तले बुझेका हुन् ।
दुई पक्षबीच भएको वार्तामा मृतकका बालबच्चाहरूलाई अस्पतालले पठनपाठनमा सहयोग गर्ने मौखिक सहमतिअनुसार शव बुझेको परिवारका सदस्य टीकाराम आरसीले बताउनुभयो ।
अस्पताल तोडफोड तथा तनाबग्रस्त भएपछि ६ नम्वर प्रदेश क्याविनेट बैठकले निर्णय गरी तीन सदस्य छानबिन टोली चौरजहारी अस्पताल पठाएको थियो ।
सामाजिक विकास मन्त्रालयका उपसचिव वृषबहादुर शाहीको संयोजकत्वमा देवेन्द्र पौडेल र डाक्टर केएन पौडेल तीन सदस्य रहेको समितिले छानबिनको काम अगाडि बढाएको छ ।