सुर्खेत, २६ साउन (जागरण) । अब वीरेन्द्रनगर बजार क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई कारवाही गरिने भएको छ । कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगरलाई स्वच्छ र वातावरणमैत्री बनाउनका लागि यस्तो कारवाहीको तयारी गरिएको हो ।
जसअन्तर्गत अब बजार क्षेत्रमा हरेक व्यापारी र घरधनीले आफ्नो पसल तथा घरअगाडि डस्टबिन राख्नुपर्नेछ । साथै फोहोर उक्त डस्टविनमा नफाल्नेलाई आर्थिक जरिवाना गरिनेछ ।
‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान अन्तर्गत अब घर र पसलको अगाडि डस्टविन नराख्नेलाई जरिवाना गरिने वीरेन्द्रनगर ६ का वडाध्यक्ष मोतिप्रसाद कँडेलले जानकारी दिनुभयो ।
वडा नम्बर ६ को सहकार्यमा वीङ्स फाउन्डेसनसहित विभिन्न सामाजिक संघसंस्थाले आजदेखि ‘क्लीन सुर्खेत, ग्रीन सुर्खेत’ अभियानको शुरूवात गरेका हुन् ।