सुर्खेत, २७ साउन (जागरण) । कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूले जुनसुकै स्थानमा पनि बाेल्ने क्रममा यो प्रदेश गरीब भएको बताउँदै आएका छन् । तर यही गरीब प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले नै शपथग्रहण गरेयता असार मसान्तसम्म ६ लाख रुपैयाँ भ्रमण भत्तामै सकेका छन् ।
गत फागुन ६ गतेदेखि असार मसान्तसम्म मन्त्रीहरूले ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण भत्ता बापत बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार सबैभन्दा कम सामाजिक विकास मन्त्री दल रावलले जम्मा ४ हजार ५ सय बुझ्नुभएको छ भने सबैभन्दा बढी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले १ लाख ४८ हजार २ सय २५ रुपैयाँ बुझ्नुभएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक लाख २९ हजार ३०० रुपैयाँ बुझेका छन् भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ९२ हजार ६ सय बुझेको कार्यालयले जनाएको छ ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले ९० हजार ४ सय २५ रुपैयाँ बुझ्नुभएको छ ।
यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ७२ हजार ४ सय २५ र भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले ६४ हजार ७२५ रुपैयाँ भ्रमण भत्ता बुझ्नुभएको छ ।
सरकारले मुख्यमन्त्रीको दैनिक भ्रमण भत्ता २५ सय र मन्त्रीहरूको २ हजार तोकेको छ । त्यस्तै मुख्यमन्त्रीले मासिक रूपमा ५९ हजार ९ सय तलब लिँदै आएका छन् भने मन्त्रीहरूले ५२ हजार तलब बुझ्दै आएका छन् ।