सुर्खेत, ६ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेतको वीरेन्द्रनगरमा घर निर्माणको क्रम बढेको छ । घर बनाउनेहरुको संख्या एकाएक वृद्धि भएपछि काठ तस्करहरु सक्रिय भएका हुन् ।
जिल्ला वन कार्यालयले पछिल्ला केही दिनमा काठ तस्करहरुलाई पक्राउ समेत गरेको छ । वीरेन्द्रनगरमा दिनप्रतिदिन घर बनाउनेहरु बढेपछि काठको माग समेत बढेको हो । तर माग अनुसार काठ आपुर्ति नहुँदा उपभोक्ताले तस्करमार्फत काठ खरिद गरिरहेका छन् । यसैक्रममा अवैध काठ वीरेन्द्रनगर भित्र्याउने क्रममा केही तस्करहरु पक्राउ परेका हुन् ।
जिल्ला वन कार्यालयले घर निर्माण तिव्र रुपमा भईरहेको र सोही अनुपातमा काठ पनि तस्कर हुन थालेको जिल्ला वन अधिकृत हेमराज विष्टले बताउनुभयो ।
वन अधिकृत विष्टले काठ तस्करहरुलाई निस्कृय गराउनका लागि समुदायका नागरिकको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
काठ चोरी निकासीलाई न्युनिकरण गर्नका लागि सुचना मुख्य कुरा भएको भन्दै उहाँले राज्यका संयन्त्रहरुलाई काठ तस्करका बारेमा जानकारी गराउन सबैसँग आग्रह गर्नुभयो ।
साथै अधिकृत विष्टले गस्तीहरु बढाएर काम गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले आगामी दिनमा प्रदेश सरकारले बनाउने नितीअनुसार वन व्यवस्थापन पद्धती अगाडि बढाउने बताउनुभयो ।