गरी खाने शिक्षा निती बनाउँछौँः मन्त्री रावल

सुर्खेत, २८ साउन (जागरण) । कर्णालीमा प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने भएको छ ।
विगतको शिक्षा नितीले बेरोजगार उत्पादन गर्ने थलोको रुपमा शिक्षण संस्थालाई स्थापित गरेको भन्दै सरकारले अब स्वरोजगार बनाउने खालको निती बनाउने जनाएको हो ।
आज वीरेन्द्रनगरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले यस्तो बताउनुभएको हो ।
प्रादेशिक रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा नीति कस्तो बनाउने भन्ने विषयमा गरिएको अन्तरक्रियामा उहाँले विगतमा जस्तोसुकै शिक्षा नीति भएपनि अब गरिखाने शिक्षा नीति बनाउन प्रदेश सरकार लागि परेको बताउनुभयो ।
मन्त्री रावलले विगतमा शिक्षा दिने निजी तथा सामुदायिक शिक्षण संस्थाले दिएको शिक्षाले विदेशिनुपर्ने बनाएको बताउनुभयो ।
स्वाभिमानी जनशक्ति उत्पादन गरेर देशमै प्रयोग गर्न सके कर्णालीको समृद्धि टाढा नरहेको उहाँको भनाई छ ।
प्राविधिक शिक्षालय सञ्चालन गर्दा पब्लिक, प्राइभेट र सरकार गरेर ३ खम्बे नीति अनुसार अघि बढ्ने मन्त्री रावलले बताउनुभयो ।
कार्यक्रममा सरोकारवालाहरुले वास्तविक आवश्यकताका आधारमा प्राविधिक शिक्षाको पाठ्यक्रम निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् ।