शिव माविलाई अमेरिकाबाटै खेमराजले गरे एक लाख रुपैयाँ सहयोग

सुर्खेत, ३० साउन (जागरण) । शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका वीरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ ।
ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग गर्नुभएको हो । ढकालका बुबा श्रीप्रसाद ढकालसहित उहाँको परिवारले आज विद्यालयलाई चेक हस्तारन्तरण गुर्नभएको हो ।

विद्यालयले आगामी वर्षमा १८ महिने पशुविज्ञान विषयमा प्राविधिक शिक्षा संचालन गर्दैछ । यस्तै, विद्यालयले वातावरणीय दृष्टिकोणले स्मार्ट स्कुल निर्माण गर्नका लागि सरसफाई सम्मेलन गरेको छ । सम्मेलनमा वडाका जनप्रतिनिधिहरुले विद्यालयलाई स्मार्ट स्कुल बनाउन प्रतिनिधित्व गर्दै प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विद्यालयलाई स्मार्ट स्कुल बनाउन वीरेन्द्रनगर नगरपालिकाकाले २ लाख २ हजार २ सय आर्थिक सहयोग गर्ने र सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले १० हजार सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
साथै दान पेटिकामा २५ हजार ४ सय १५ संकलन भएको शिक्षक विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो ।
विद्यालयले महिनावारी स्वच्छता, स्वछ चर्पी प्रयोग, स्वस्थ खाना, वातावरणीय सरसफाई, साबु्न पानीले हात धुने र स्वच्छ पिउने पानी विषयमा समुह बनाएर विद्यालयलाई स्मार्ट स्कुल बनाउने अभियानमा लाग्ने उहाँले बताउनुभयो ।
यस्तै विद्यालयले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक आयव्यय सार्वजनिक गरेको छ । विद्यालयले १ करोड ४० लाख २७ हजार ७ सय ४१ रुपैँया १९ पैसा बराबरको आयव्यय सार्वजनिक गरेको हो ।