अब कानुन विहीनताको अन्त्य हुन्छः न्यायधीश भट्टराई

सुर्खेत, ३१ साउन (जागरण) । सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले भोलिदेखि लागु हुने नयाँ मुलुकी ऐनले कानुन विहीनताको अवस्थालाई अन्त्य गर्ने बताउनुभएको छ ।
आज वीरेन्द्रनगरमा मुलुकी ऐन कार्यान्यन सम्बन्धि छलफलमा बोल्दै उहाँले कानुनी संरचना चुस्त र दुस्त नभएसम्म न्याय दिलाउन नसकिने बताउनुभयो ।
अब कानुनको अभावमा न्याय दिन सकिएन भनेर बस्ने अवस्था नरहेको न्यायधीश भट्टराईको भनाई छ । उहाँले विधिको शासनलाई मजबुद गराउने क्रममा रहेको भन्दै भोलिदेखि नयाँ कानुनबाट न्याय सम्पादन गर्न डटेर लाग्ने उल्लेख गर्नुभयो ।
नागरिकहरुको जीवनमा सरोकार राख्ने सबै क्षेत्रमा अन्याय हुन सक्ने भन्दै उहाँले यस्ता घटनालाई यो ऐनले सम्बोधन गरेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश हरिकुुमार पोखरेलले ऐन कार्यान्वयनका लागि न्याय प्रशासनलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो ।