वचत उठाउने मात्रै होईन अब उत्पादनमा जोड देउः मन्त्री ज्वाला

सुर्खेत, ३१ साउन (जागरण) । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सहकारी संस्थाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभएको छ ।
सहकारीको माध्यमबाटै रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि हुने भन्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
आज वीरेन्द्रनगरमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेप्सकुन)को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बचत उठाउने मात्र नभई उत्पादनमा समेत लगानी गर्न आग्रह गर्नुभयो ।
मन्त्री ज्वालाले यस वर्षको बजेटमा सरकारले सहकारीलाई उच्च प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले सहकारीलाई कृषि, उत्पादन र बजारसंग जोडेको भन्दै उच्च प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री ज्वालाले विकास गर्न संघियता आएको भन्दै सबैको सुझाव तथा आलोचनाको पनि सरकारले अपेक्षा गरेको बताउनुभयो । उहाँले सरकारले गरेका राम्रो कामको सहयोग र गलत कामको रचनात्मक सुझाव दिने काम गर्न प्रतिपक्षीलाई पनि आग्रह गर्नुभयो ।