कर्णालीको सामाजिक विकास समिति गाउँ पस्दै

सुर्खेत, ५ भदौ (जागरण) । कर्णाली प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समिति जनताका रायसुझाव संकलन गर्न गाउँ जाने भएको छ ।
सरकारले प्रदेश सभामा टेबुल गरेको सहकारी विधेयक २०७५ को विषयमा जनताका राय सुझाव संकलन गर्न समिति कर्णालीका २ जिल्लामा जान लागेको हो ।
रुकुमको चौरजहारीमा भदौ ११ गते र जुम्लामा भदौ १४ गते सुझाव संकलन कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष राजु नेपालीले बताउनुभयो ।
जनता, स्थानीय तह, सहकारीबाट सुझाव लिई विधेयकलाई थप राम्रो बनाउने योजना रहेको उहाँले बताउनुभयो ।