काठमाण्डौँ, ८ चैत (जागरण) । माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ बिहान ८ बजेबाट ११ बजेसम्म भएको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सञ्चालन भएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यसवर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।
साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ ।
यसैबीच, जिल्ला कारागार सुर्खेतमा रहेका दुई जना कैदीबन्दीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन् ।
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन उनीहरुले अग्रेजी विषयको परीक्षा दिएका हुुन् ।
जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार त्रिपुरेश्वर मा वि वीरेन्द्रनगर १ का ढाडेखालीका आकाश विक र नेपाल राष्ट्रिय मावि लोदे मैनतडाका खिमबहादुर विकले कारागारबाटै परीक्षा दिएका हुन् । आकाश विक लागुऔषध र खिमबहादुर विक बहुविवाहको मुद्धामा जेल परेका थिए ।
यस्तै, आज पहिलो दिन भएको अ्रगेजी परीक्षामा सुर्खेतमा ३ सय १९ जना अनुउपस्थित भएका छन् । छात्रा १ सय ६६ र छात्र १ सय ३३ विद्यार्थीहरु परीक्षा अनुउपस्थित भएका हुन ।
कार्यालयका अनुसार ७ हजार ९ सय ९२ मध्ये ७ हजार ६ सय ७३ विद्यार्थीहरुले मात्र परीक्षा दिएका छन् । परीक्षा नदिनेहरुमा धेरै जसो आंशिक तर्फका विद्यार्थीहरु रहेका छन् । कार्यलयका अनुसार दुई सय ४ आंशिक तर्फका विद्यार्थीहरुले परीक्षा नदिएका हुन् ।
जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले आज सुर्खेतमा एसइइको परीक्षा शान्त र मर्यादित भएकोे जानकारी दिनु भयो ।