सुर्खेत, ८ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि काठमाण्डौँसम्म सीधा हवाई उडान शुरु हुने भएको छ ।
अवको दुई हप्ताभित्र सुर्खेतदेखि केन्द्रिय राजधानी काठमाण्डौँ सिधा हवाई उडानमार्फत् जोडिने भएको हो ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जागरणसँग कुराकानी गर्दै निजी बायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले उडान शुरु गर्ने बताएको जानकारी दिनुभयो ।
बुद्ध एयर र नेपाल एरलाइन्सले चैत २१ गतेबाट सुर्खेतदेखि काठमाण्डौ सीधा हवाई उडान भर्ने प्रतिबद्धता व्यक्त गरेको पर्यटन मन्त्री बुढाले जानकारी दिनुभयो । साथै उहाँले सुर्खेतमा विमानस्थलको स्तरोन्तिका लागि पनि पहल भईरहेको बताउनुभयो ।
सुर्खेत-काठमाण्डौँ हवाइ सेवा यसअघि केहि समय चल्ने र फेरी बन्द हुने गर्नाले आजित भएका नागरिकहरुले अव भने निरन्तर रुपमा चल्नुपर्ने सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् केहीले खुसी व्यक्त गरेका छन् भने केहीले अव पनि निरन्तर रुपमा हवाई सेवा सञ्चालन हुनेमा शंका गरेका छन् ।