लडाकु शिविरमा बन्ने भयो हाईटेक नर्सरी

सुर्खेत, ११ भदौ (जागरण) । तत्कालिन माओवादी लडाकुको शिविर बसेको जग्गामा प्रदेश सरकारले अत्याधुनिक ‘हाइटेक नर्सरी’ स्थापना गर्ने भएको छ ।
यसअघि माओवादी लडाकुको छैठौं डिभिजन बसेको सुर्खेतको दशरथपुरस्थित जग्गामा नर्सरी स्थापना गर्न लागिएको हो ।
विगतमा लडाकु शिविरले प्रयोग गरेको उक्त जग्गामा हाइटेक नर्सरी स्थापनाका लागि विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कृषि तथा सहकारी मन्त्री विमला केसी र कृषि विज्ञसहितको टोलीले उक्त स्थानमा आज स्थलगत अध्ययन गरेको हो ।
३८ हेक्टर क्षेत्रफल रहेको यही जग्गामा नर्सरी स्थापना गर्दा उपयुक्त हुने अध्ययन टोलीले जनाएको छ ।
प्रदेश सरकारले बजेट भाषणमार्फत नै यहाँका किसानहरुलाई विभिन्न जातका फलफुल र तरकारीका बेर्ना वितरण गर्ने घोषणा गरिसकेको छ ।
जसका लागि सरकार आफैले नर्सरी स्थापना गर्न लागेको हो । दशरथपुरस्थित अध्ययन गरिएको जग्गामा नर्सरी स्थापनाका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले अब नर्सरी स्थापनाको काम सुरु हुने बताउनुभयो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दशरथपुरमा नै नर्सरी स्थापनाका लागि सरकारले काम अगाडी बढाउने बताउनुभयो ।
आधुनिक नर्सरी स्थापना गरेर किसानलाई उन्नत जातका फलफुल र तरकारीका विरुवा वितरण गरिने उहाँको भनाइ छ ।