घर भत्किँदा एकै घरका पाँच जनाको मृत्यु

वुद्धि पुन, रेडियो राप्ती
सल्यान, १३ भदौ (जागरण) । सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यू भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसस्थित घरमा सुतिरहेका ५ जनाको मृत्यू भएको हो ।
गएराती ९ बजेतीर घरको दलिन भाँचिनुका साथै घरको पर्खाल भत्किदा एकै परिवारका ६ जना मध्ये ५ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यू हुनेमा ४० बर्षिय रामसिंह कामी, ३५ बर्षिया रामकला कामी रहेका छन् । यस्तै उनीहरुका छोरी ७ बर्षिया गगां बिक र ६ बर्षिया प्रमिला बिक र छोरा ४ बर्षिय रुपलाल बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
परिवारसँगै सुतेकी रामसिंहकै ९ बर्षिया छोरी सुनिता बिक भने बाँच्न सफल भएकी छन् । घटनापछि प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल र डिएसपी शाहीसहितको टोली घटनास्थल पुगेको थियो । टोलीले किरिया खर्चबापत राहतस्वरुप एक लाख रुपैयाँ पिडीत परिवारलाई हस्तान्तरण गरेको रेडियो राप्तीले समाचार पठाएको छ ।