निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै सल्यानमा प्रदर्शन

वुद्धि पुन, रेडियाे राप्ती 

सल्यान, १५ भदौ (जागरण) । कञ्चलपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै विहीबार सल्यानमा प्रर्दशन गरिएको छ । एम.एम.एकेडेमी खलंगामा अध्ययनरत छात्राहरुले निर्मलाको हत्या गर्ने बास्तविक हत्यारालाई छिटो पत्ता लगाई जन्मकैद सम्मको कारबाही गर्न माग गर्दैै प्रर्दशन गरेका हुन् ।

बिद्यालय परिसरबाट निकालिएको ¥याली खलंगाबजार परिक्रमा गर्दै पुरानो बसपार्कमा गएर कोण सभामा परिणत भएको थियो ।
छात्रा गंगा बुढाथोकीले सहजीकरण गरेको कोण सभामा छात्राहरु अमृता भण्डारी, सुशिला बुढाथोकी, मनु केसी लगाएत बोलेका थिए । उनीहरुले पन्तको हत्यारालाई र्काबाही गर, बालिकालाई बलात्कार गर्न पाईदैन लगाएतका नारा लगाएका थिए । बालिकाहरु हरेक क्षेत्रमा बलात्कृत हुने भएकाले उनीहरुमाथि हुने बलात्कारलाई न्यूनिकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरुको माग थियो ।
कञ्चनपुरलगायत देशका विभिन्न भागका बालबालिकाहरु एकपछि अर्को हिंसामा परेको भन्दै उनीहरुले प्रदर्शन गरेको बिद्यालय सञ्चालक महेश देबकोटाले जानकारी दिनुभयो । देशमा बढेको बलात्कारका घटनाका कारण बालिका तथा किशोरीहरुमा डर फैलिएको उनीहरुको भनाई थियो । निर्मला पन्तको साउन महिनाको पहिलो साता बलात्कारपछी हत्या गरिएको थियो ।