मुख्यमन्त्री र मन्त्रीहरुले पसिना बगाउँदै ढुंगा बोकेपछि

सुर्खेत, १५ भदौ (जागरण) । कर्णालीमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले श्रम गर्न थालेका छन् । मन्त्रीहरु हरेक महिनाको दुईदिन आफैं श्रम शिविरमा पुगेर काम गर्न थालेका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रुपमा मनाउने निर्णय गरेको छ । यही निर्णयअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुक्रवार मन्त्रीहरुले वीरेन्द्रनगरस्थित खोर्के खोलामा पुगेर चार वर्षअघि बाढीले क्षति पु¥याएको भौत्तिक संरचनाको पुननिर्माणमा श्रम गरेका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बाढीले बगाएको स्थानीय सरस्वती बालविकास केन्द्रको भवन पुननिर्माणको काम सुरुवात गरेका हुन् । यस्तै बाढीले कटान गरेको स्थानमा तटबन्ध निर्माणका लागिसमेत मन्त्रीहरुले ढुंगा बोक्ने तथा जाली भर्ने काम गरेका छन् । मन्त्रीहरुले पसिना बगाउँदै ढुंगा बोकेपछि स्थानीय बासिन्दा पनि श्रममा जुटेका थिए ।
मुख्यमन्त्री र मन्त्रीहरुले नै खोलामा पुगेर ढुंगा बोकेको र निर्माणको काम गरेको देखेपछि आश्चर्यमा परेका स्थानीय बासिन्दाले पनि काममा सहभागि भएका थिए । ‘श्रम गर्ने संस्कृति हराउँदै गयो, सुकिला लुगा लगाउनेले ढुंगामाटो छुनै हुन्न भन्ने सोच हावी भयो’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्नुभयो, ‘श्रम नगर्दा नै हामी गरिब भयौं, मान्छेहरु श्रम गर्न लाज मान्न थाले । यही लाज मान्ने संस्कृतिलाई तोड्न हामीले श्रम शिविर संचालन गरेका हौं, अब महिनाको दुईदिन हामी अनिवार्य श्रम गर्नेछौं ।’
प्रदेश सरकारले श्रम शिविरमा सहभागि हुन प्रदेशका सांसद, कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय गौमाया नेपालीले भन्नुभयो,‘बाढीले नोक्सान गरेको चारवर्ष वित्यो, हालसम्म कोही आएका थिएनन् । तर आज त मन्त्रीहरु नै आँगनमा आएर ढुंगा बोकेर जाली लगाइदिए, बल्ल सरकार भएको अनुभूति भयो ।’ मन्त्रीहरु आफैंले आएर विकासको काम गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।