सुर्खेत, १६ भदौ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा रहेको गणेशजल वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको छ ।
गणेशजल स्वास्थ्य विमाका रुपमा सञ्चालन गरिएको कार्यक्रम सहकारीले सञ्चालन गरेको कर्णाली प्रदेशकै पहिलो स्वास्थ्य विमा कार्यक्रम हो ।
सहकारीले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमको कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले शनिवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ ।

पछिल्लो समय सहकारीका माध्यमबाट समाजमा कृषि तथा सामजिक कार्यमा सहजता आएको बताउँदै मन्त्री केसीले सहकारीहरुले स्थानीय स्तरमै रोजगारी सृजना गरी युवाहरुलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभयो । मन्त्रालयको चालु आर्थिक वर्षको बजेटको केन्द्रविन्दुमा सहकारी संस्था रहेको उहाँले बताउनुभयो ।
सहकारीले आफ्नो सेयर सदस्यहरुलाई स्वास्थ्य सेवामा सहज वातावरण सृजना गर्ने उद्देश्यका साथ स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याएको गणेशजल वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम विसीले जानकारी दिनुभयो ।
विकटमा रहेका सेयर सदस्यहरुलाई समेत स्वास्थ्य उपचारमा सहज पहुँच पुगोस भन्ने हेतुले विमा कार्यक्रम सञ्चालन गरेको बताउँदै अध्यक्ष केसीले हाल बचत तथा ऋण, कृषि, लघुवित्त जस्ता कार्यक्रम सञ्चालन गर्दै आएकोमा अब केही समयभै नागरिकले प्रत्यक्ष सेवा लिन सक्ने खालका अध्य कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।
सहकारीले सञ्चालन गरेको स्वास्थ्य विमा गर्न सहकारीको सेयर सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । विमा गरेका सदस्यहरुले विमा शुल्क अनुसार वार्षिक एक लाखसम्मको स्वास्थ्य विमा रहने छ । सदस्यहरुले बढी विमा गर्न चाहेमा विमा शुल्क दर अनुसार शुल्क थप गरेर ५ लाखसम्मको स्वास्थ्य विमा गर्न सकिने छ ।
विमाका लागि परिवारका प्रति सदस्य करबाहेक १ हजार २ सय ५० रुपैयाँ शुल्क तिनुपर्ने छ । त्यसमा पति/पत्नी र दुईजना छोरा वा छोरी गरि चार जनाको परिवारले ६२५ रुपैयाँ थप गरी १ हजार ८ सय ७५ रुपैयाँमा वार्षिक विमा गराउन सक्ने छन् ।
चारजना बाहेक परिवारमा अन्य सदस्य भएमा प्रति सदस्यका लागि करबाहेक १ हजार २५० रुपैयाँ थप लाग्ने संस्थाले जनाएको छ ।
स्वास्थ्य विमा गराउने सेयर सदस्यको उमेर ७० वर्षसम्मको हुनुपर्ने छ भने प्रमुख सहभागी सदस्यको छोरा वा छोरी २१ वर्षसम्मको हुनुपर्ने छ ।
स्वास्थ्य विमाको अवधि एक वर्षको हुने छ भने हरेक वर्ष शुल्क तिरेर नविकरण गराउनुपर्ने छ । सहकारीले सञ्चालन गरेको ‘गणेशजल स्वास्थ्य विमा’भित्र १ हजार २ सयभन्दा बढी प्रकारका रोगहरुको उपचार खर्च समावेश गरिएको हुने छ ।
यस्तै, नेपाल र भारतसहित ६ सयभन्दा बढी अस्पतालहरुमा नगदसहित सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । विमा रकम विना झनझट सजिलै भुक्तानि गरिने संस्थाका अध्यक्ष प्रेमकुमार विसीले बताउनुभयो ।