बराहताललाई चिनाउन महोत्सव

सुर्खेत, ९ चैत (जागरण) । पर्यटन प्रवर्द्धन लागि सुर्खेतको बराहतालमा महोत्सव हुने भएको छ । बराहतालको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाकै सबैभन्दा ठुलो ताल भएर पनि उचित संरक्षण र प्रचारको अभावमा बराहताल ओझेलमा पर्दै आएको छ । महोत्सव मार्फत प्रचार प्रसार गर्दै बराहतालमा पर्यटक भित्र्याउन महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताउनुभयो ।

महोत्सव बारे जानकारी दिन आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यही चैत २३ गतेदेखि महोत्सव शुरु हुने बताउनुभयो ।
बराहतालभित्र सुर्खेतलाई मात्र नभई समग्र कर्णाली प्रदेशलाई नै चिनाउन सक्ने खालका ऐतिहासिक महत्व बोकेका पर्यटकिय स्थल भएको अध्यक्ष बस्नेतको दाबी छ । तरंगास्थित भेरी नदीको किनारमा हुने महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, दोहोरी गीत प्रतियोगिताका साथै बराहतालको डकुमेन्ट्री प्रदर्शन पनि गरिने जानकारी दिनुभयो ।
अध्यक्ष बस्नेतका अनुसार गाउँपालिकाले २० लाख लगानी गर्ने यो महोत्सवमा करिब ३२ लाख खर्च हुनेछ ।
महोत्सवको माध्यमबाट सबैको ध्यान बराहतालतर्फ केन्द्रित गराई सबैको सल्लाहबाट पर्यटन विकासका लागि गुरुयोजना बनाउन आफुहरु लाग्ने उहाँको भनाई छ ।