सुर्खेत, २६ भदौ (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु भएको छ । लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए ।
जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताउनुभयो । डाक्टर खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो ।
सङ्घीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई तीन करोड ५० लाख रुपैयाँको उपकरण प्राप्त भएको छ । बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सो सेवा पाउने डा खड्काले जानकारी दिनुभयो ।