चाँदनी कठायत ।
सुर्खेत, २८ भदौ (जागरण) । नेपाली लोकबाजा मध्येको एक बाजा हो मादल । रोधिघरदेखि मेला महोत्सवमा नाचगान गर्दा बजाइने मादलको पछिल्लो समय प्रयोग घट्न थालेको छ । आधुनिक प्रविधि भित्रिएसँगै अहिलेको पुस्ताले मादलको प्रयोग गर्न भुल्न थालेको प्रति श्रष्टा पनि चिन्तित छन् ।
नेपाली लोक संस्कृतिको छुट्टै पहिचान बोकेको नेपाली लोकबाजा मध्येको एक हो ।
सुन्दै मन बहकाउने यो नेपाली लोकबाजा मादलसँगै आफ्नो जिन्दगीलाई जोड्नुभएका एक यस्ता श्रष्टा वरिष्ठ बाध्यवाधक प्रेमदेव गिरी । लामो कपाल, सेतै फुलेको लामो दारी, केही मुजा परेको गाला, पातलो ज्यान । उमेरले तीन बिस काटिसक्नुभएका गिरीले बजाउने मादलको शुर अनि ताल भने उस्तै फुर्तिला र सुरिलो हुन्छ ।
मुटभरी अथाह देशको माया बोकेर हिँड्नुभएका बाध्यवाधक गिरी सानैदेखि मादल बजाउनमा रुचि राख्नुहुन्थ्यो । उहाँले २०२९ सालदेखि व्यवसायिक रुपमा गीत बजाउन थाल्नुभएको हो ।
अरुकै देखेर मादल बजाउने ऊर्जा सिर्जना गर्नुभएका गिरीलाई प्रेरणाका स्रोत मान्नेहरुको संख्या भने धेरै छ । राष्ट्रियस्तरमा चर्चा बटुलेका गायक गायिकाहरुले पनि उहाँलाई आफ्नो गुरु मानेर पुज्ने गर्दछन् । संस्कृतिलाई निकै नै माया गर्ने गिरी दर्जनौँ राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भईसक्नुभएको छ । गिरीसँग मादलको सुर अनि ताललाई भिन्न भिन्न लयमा ढाल्न सक्ने क्षमता छ जस्ले नेपाली लोक भाकालाई प्रतिबिम्बीत गरेको हुन्छ ।
यो उमेरसम्म आईपुग्दा गिरीले मादल मात्र बजाउनुभएन, अभिनय पनि गर्नुभयो साथमा करिब ३० वर्षदेखि यही संगीतसँग जोडिएर शिक्षण पेशालाई पनि अंगाल्नुभएको छ । लोप हुँदै गएको संस्कृतिप्रति उहाँको गहिरो चिन्ता छ ।
मादल एउटा बस्तु मात्रै नभएर नेपालीको पहिचानको आवाजलाई लोक संस्कृतिका माध्यमबाट बुलंद गर्ने बाजाका रुपमा गिरी लिनुहुन्छ ।
कर्णाली प्रदेश संस्कृतिले धनी प्रदेश हो, जहाँको संस्कृतिले विविध विशेषता बोकेको छ । यही संस्कृतिलाई जोगाउन अब प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने गिरीको सुझाव छ ।
मादल, मादलमात्र नभई नेपाली संस्कृतिको चिनारी बोकेको लोक बाजा हो, यही बाजाका माध्ययमबाट संस्कृति बचाउने अभियानमा तल्लीन हुनुहून्छ गिरी पनि ।
अब यस्ता सर्जक अनि सर्जकले सिर्जना गरेका संस्कृतिलाई बचाईराख्न सरकारको पनि विशेष ध्यान जानुपर्ने देखिन्छ । नेपालीको स्वाभिमानसँग जोडिएका यी लोकबाजालाई बचाईराख्नु सबैको कर्तव्य हो ।
मादलसँगै प्रेमदेवका कथा सुन्नुहोस् अडियोमाः