सुर्खेत, ३० भदौ (जागरण) । देशभर पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेपछि बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने आवाज उठिरहेको छ । तर प्रहरीले भने बलात्कारमा संलग्नलाई इन्काउन्टर गरेको छ ।
विभीन्न समयमा किशोरी तथा महिलालाई बलात्कार गर्ने समूहका चार जनालाई घटनास्थलमै प्रहरीले इन्काउन्टर गरेको छ । यो सत्य घटना नभई बलात्कारका घटनालाई समेटेर निर्माण भएको लघु चलचित्र ‘चित्कार’ मा यस्तो घटना भएको देखाइएको हो ।
कर्णाली कला प्रतिष्ठान नेपालको निर्माण तथा काँक्रेविहार मुभि हाउसको प्रस्तुतिमा चित्कार निर्माण गरिएको हो । लघु चलचित्रमा खगेन्द्र केपी, गिता कटुवाल, विष्णा वादी, नेत्र रावत, आरती बढा, इक्माइल सल्मानीलगायतका कलाकारहरुको अभिनय छ । यसको लेखन तथा निर्देशन बालकृष्ण सुनारले गर्नु भएको हो ।
यसले बलात्कारका घटना न्यूनिकरण गर्न र सकारात्मक सोच र चिन्तनको विकास गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने छायांकन तथा सम्पादन अकवर खानले बताउनुभयो ।
नेपाल प्रहरीकाअनुसार देशभर एक वर्षमा एक हजार भन्दा बढी महिला बलात्कारको सिकार हुने गरेका छन् । तथ्याङ्क हेर्ने हो भर्ने ८ दशमलव ६ प्रतिशतले बलात्कारको घटनामा वृद्धि भएको छ ।मुलुकी ऐनलाई प्रतिस्थापन गरी नयाँ ऐनसमेत लागू भइसकेको छ ।
नयाँ ऐनअनुसार १० वर्षमुनिको पीडित भएमा १६ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै सामूहिक बलात्कार भएको घटना छ भने ३ देखि ४ वर्ष थप हुने व्यवस्था पनि गरिएको छ । १८ वर्षदेखि माथिको पीडित हुँदा भने ७ देखि १० वर्षसम्म जेल सजाय हुन्छ । त्यसमा पनि सामूहिक बलात्कार हो भने थप कैद सजायको व्यवस्था छ ।
हेर्नुहोस् ‘चित्कार’-