सुर्खेत, ९ चैत (जागरण) । कर्णालीमा प्रदेश सरकारले आर्थिक कार्यविधि सम्बन्धि विधेयक संसदमा दर्ता गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आज संसद सचिवालयमा दर्ता गरेकोे हो । यो विधेयक भएसंगै अब प्रदेश संसदले कामका लागि बिजनेश पाएको छ ।
सरकारले बिजनेश नदिदा गत फागुन १५ गतेदेखि संसद बैठक स्थगित छ । आज सरकारले पहिलो विधेयक दर्ता गरेपछि अबको केही दिन भित्र संसद बैठक बस्नेछ ।
संसदमा दर्ता भएको आर्थिक विधेयक पारित भएमा प्रदेश सरकारलाई आर्थिक कारोबार तथा बैंकमा खाता खोल्न बाटो खुल्ने छ ।
विधेयक दर्ता बारेमा जानकारी दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अब सरकारलाई काम गर्नका लागि बाटो खुल्ने बताउनु भयो ।
संसदमा दर्ता भएको आर्थिक विधेयकमा प्रदेश सरकार अन्र्तगतका कार्यालयहरुमा विधुतिय प्रणाली मार्फत आर्थिक कारोबार गरिने उल्लेख छ ।
आर्थिक मन्त्रालयका सचिव ढुण्डीराज निरौलाले विधेयकमा आर्थिक कारोबारलाई पारदर्शी बनाउनका लागि नयाँ प्रविधि अपनाउने बताउनु भयो ।
आर्थिक विधेयकले सरकारलाई बजेट ल्याउनका लागि बाटो खुल्ला गर्ने छ । तर कर्णाली प्रदेशको आफ्नै राजश्वको स्रोत नहुँदा बजेट निर्माणमा केही समस्या रहेको मन्त्रालयले जनाएको छ । बजेटमा स्रोत बढाउनका लागि पहल भइरहेको भन्दै आर्थिक मन्त्री ज्वालाले राजश्व स्रोत जुटाउन दक्षिण र उत्तरका नाका संचालन बारे पहल भइरहेको बताउनु भयो ।