संविधान दिवसमा लोपउन्मुख राउटेको झाँकी र नाँच

सुर्खेत, ३ असोज (जागरण) । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस र राष्ट्रिय दिवस मनाइँदैछ ।
दिवसका अवसरमा प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
गरेको छ ।

राउटे समुदायले निकालेको झाँकी । फोटोः हिरासिंह थापाबाट

यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकारको आयोजनामा विशेष समारोह भएको छ । समारोहमा नेपालको लोपउन्मुख राउटे समुदायले पनि झाँकी निकालेका छन् । नेपालको संविधान दिवसको अवसरमा खुसीयाली मनाउन राउटेहरुले पनि झाँकी निकालेका हुन् ।
दैलेखको गुराँस गाउँपालिका वडा नम्वर ८ मा बसोबास गरिरहेका राउटेहरुले एकाविहानै प्रभात फेरी र झाँकीमा अन्य समुदायका व्यक्तिहरुसँगसँगै लाम लागे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुर्खेतको झाँकीमा कलाकारहरु । फोटोः पवन योगी

यतिमात्रै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतले संयोजन गरेको साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने क्रममा राउटेले पैँसरी नाँचसमेत प्रस्तुत गरेका छन् । प्रतिष्ठानका कलाकारहरुले राष्ट्रभक्ति भावले ओतप्रोत साँस्कृतिक झाँकी तथा गीत र नृत्य प्रस्तुत गरेका छन् ।
राष्ट्रपतिको भनाईः
संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभएको छ ।
सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्न उनले जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकलाई अपिलसमेत गर्नुभयो ।
‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ’, संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएकोसमेत बताउनुभएको छ ।
संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा व्यक्त
गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
यस्तै,प्रधानमन्त्री केपी ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताउनुभएको छ ।
उहाँले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
‘नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो’, शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, ‘मलाई विश्वास छ, हाम्रो संविधानले नेपाललाई बलियो, समृद्ध र मर्या्दित राष्ट्रमा रुपान्तरित गर्नेछ । राष्ट्रियताको रक्षा र छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउनेछ ।’
प्रधानमन्त्री भन्नुहुन्छः
प्रधानमन्त्री ओलीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै नभएर मान्यता र सिद्धान्तलाई समेत समेटेको बताउनुभयो ।
‘असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,’ उनले सन्देशमा भनेका छन्, ‘त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।’
संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको र हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ ।
संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उहाँले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको बताउनुभयो ।