डोकोबाटै समृद्धी खोज्दै कम्मुदेवी (अडियाे सहित)

मुना हमाल । सुर्खेत, असोज ५ (जागरण) । एकाबिहानै उठेर डोकोभरी तरकारी राखेर विक्रि गर्नका लागि गाउँभरी डुल्नु वीरेन्द्रनगर करेखोलाकी कम्मुदेवी नेपालीको दैनिक कार्य हो । एघार वर्षअघि आफन्तको घरमा जान्छु भनेर हिँडेका श्रीमान कहिल्यै फर्केर नआएपछि चार सन्तानको लालनपालनका लागि अधवैँशे उमेरमै उहाँ विदेशिन बाध्य हुनुभयो । दुई वर्ष कुवेतमा काम गरेपछि स्वदेशको मायाले कम्मुदेवी फेरि नेपाल फर्किनुभयो । दुःख त स्वदेशमै पनि गर्नुपर्ने भएपछि उहाँले डोके व्यापार शुरु गर्ने योजना बनाउनुभयो । शुरुमा पाँच हजार ऋण गरेर कम्मुदेवीले डोकोमा तरकारी तथा फलफुल बेच्न शुरु गर्नुभयो ।

गाउँघरमा तरकारी, फलफूल संकलन गरेर उहाँ वीरेन्द्रनगर बजारभरी बेच्नुहुन्छ । शुरुमा हिसाबकिताब समेत गर्न नसक्ने कम्मुदेवी एक्लैले अहिले यही व्यवसायबाट पाँच जनाको परिवार पाल्न सक्षम हुनुहुन्छ र साथमा सन्तुष्ट पनि । यही व्यवसायले गर्दा अहिले काम गर्ने हौसला पनि मिलेको कम्मुदेवी बताउनुहुन्छ ।
कम्मुदेवीले अहिले डोके व्यापार गरेरै मासिक १५ हजारसम्म आम्दानी गर्नुहुन्छ । वेपत्ता हुनुभएका श्रीमान अहिलेसम्म घर फर्किनु भएको छैन । तर चार सन्तानलाई उहाँ एक्लैले हुर्काउनुभयो । 

विदेशमा समेत गएर दुःख गरेर फर्किनुभएकी उहाँ अहिले अरु महिलाका लागि पनि प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँले अन्य महिलालाई पनि सानोतिनो व्यापार व्यवसाय गर्न सुझाव दिनुहुन्छ ।
तीन छोरी र एक छोराकी आमा कम्मुदेवी जस्तै आफ्ना लागि साहस आफै बनेका महिलाहरु धेरै छन् । घरखर्च चलाउनका लागि सधैँ अरुकै भर पर्नुभन्दा सानोतिनो व्यवसाय गरेपनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा कम्मुदेवीबाट अन्य महिलाले पनि सिक्नपर्ने देखिन्छ ।

प्रस्तुत छ, यो रेडियो सामग्रीः