काठमाण्डौँ, ९ चैत (जागरण) । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेतृत्वको कडा आलोचना भएको छ ।
पार्टी संगठन, निर्वाचनको समीक्षालगायतका छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरुले नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै चर्को आलोचना गरेका छन् ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाहा नगरी व्यक्तिगत महत्वाकांक्षा र सत्ताकेन्द्रित राजनीतिक चरित्र देखाएका कारण पार्टी कमजोर भएको टिप्पणी गरे ।
बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकार र पार्टी नेतृत्वमा सभापति देउवाले अपनाएको गलत रवैयाका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाउनुभयो ।
त्यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीको आन्तरिक संगठन चुस्त हुन नसकेको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको बताउनुभयो ।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक सुदृढीकरण र एकताबद्ध भएर अगाडि बढ्नका लागि नेताहरुले सुझाव दिएको बताउनुभयो ।
बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भएकाले बैठक एक सातासम्म चल्ने जनाइएको छ ।
फोटोः अनलाईनबाट ।