प्रोफेसनल स्पिचको उपाधि समिरको पोल्टामा

सुर्खेत, १० चैत (जागरण) । सुर्खेतमा पहिलो पटक सञ्चालन गरिएको सर्वाधिक पुरस्कार राशीको प्रोफेसनल स्पिच कम्पिटिसन २०७४ को उपाधि जन माध्यमिक विद्यालय वीरेन्द्रनगर बीच बजारका समिर विक्रम रानाले जित्नुभएको छ ।
यसअघि उत्कृष्ट पाँचभित्र परेका समिरले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
यस्तै एसओएस हर्मोन माइनर माध्यमिक विद्यालय कालागाउँ सर्खेतका अर्जुन आचार्यले फष्र्ट रनरअफको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ ।
प्रतियोगितामा सेकेण्ड रनरअफ हुँदै श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम वीरेन्द्रनगरका हृदेन्द्रजंग शाहीले २५ हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ ।
प्रोफेसनल स्कील डेभलप्मेन्ट प्रा लि ले आयोजना गरेको प्रतियोगिताको स्मार्ट पर्फरमर हुन सफल हिमालय माध्यमिक विद्यालय सिम्ता चोल्पाका विद्यार्थी नविन विकले १० हजार र स्विट भ्वाइसको उपाधि प्राप्त गर्न सफल डिभि निकेतन सुर्खेतकी निहारिका सुवेदीले पाँच हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।
वरिष्ठ रेडियो प्रस्तोता डाक्टर नवराज लम्सालको प्रमुख आतिथ्यतामा भएको फाइनल प्रतियोगितामा रेडियो नेपाल कार्यक्रम महासाखा प्रमुख तारा वस्ती, त्रिभूवन विश्वविद्यालयका उपप्रध्यापक डाक्टर दीपक गौतम र रेडियो नेपाल कर्णाली प्रदेश प्रशारण केन्द्र सुर्खेतका भानुभक्त खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
फाइनल चरणको कार्यक्रममा संस्कृत विश्वविद्यालय दाङका सहप्रध्यापक नारायण शर्माले आफ्ना कविता सुनाएर धेरै जनालाई मोहितसमेत पार्नुभएको थियो ।
आगामी दिनमा सुर्खेत गर्ट ट्यालेन्ट अन्तर्गत यस्तै प्रतियोगितात्मक कार्यक्रम गर्ने पिएसडिका सञ्चालक प्रेमकुमार विसीले बताउनुभयो ।
विभीन्न १२ विद्यालयका ४६ विद्यार्थी सहभागि भएको प्रतियोगिता चार चरणमा सञ्चालन भएको हो ।