नेकपाको कर्णालीे ईन्चार्जमा शर्मा, सचिवले गरे पद अस्वीकार

सुर्खेत, ६ असोज (जागरण) । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेश संगठन कमिटीका चार इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो ।
कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा र सह–इन्चार्जमा यामलाल कंडेल रहनुभएको छ । यस्तै, बैठकले प्रदेशको अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।
यसैबिच, नेकपाका नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गर्नुभएको छ । सचिवको जिम्मेवारी पाए लगत्तै उहाँले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराउनु भएको हो । उहाँका निकटस्थका अनुसार बरियता क्रम नमिलेका कारण उहाँले सचिव पद अस्वीकार गर्नुभएको हो ।