सुर्खेत, ११ चैत (जागरण) । सुर्खेतमा सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्ड हलको निर्माणको काम शुरु भएको छ । वीरेन्द्रनगरमा निर्माण गर्न लागिएको यो प्रदेशकै नमुना कवर्ड हलको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिलान्यास गर्नुभयो ।
सुर्खेत जिल्ला ब्याडमिन्टन संघले निर्माण गर्न लागेको यो हलका लागि तीन करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
वीरेन्द्रनगर रंगशाला नजिक निर्माण हुन लागेको कभर्ड हलको काम एक वर्षभित्र सम्पन्न हुने ब्याडमिन्टन संघका सचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
कवर्ड हल निर्माणका लागि यसअघि वीरेन्द्रनगरमा महायज्ञ संचालन गरिएको थियो । हालसम्म खेलाडीले खुला स्थानमा धुलोमै खेल्नुपर्ने बाध्यता छ । यो कवर्डहल निर्माण भएमा खेलाडीलाई सहज हुनेछ ।
महायज्ञबाटै संकलन भएको रकमबाट काम शुरु गरिएको सचिव देवकोटाले बताउनुभयो ।
कभर्ड हलको शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा खेलकुद विकासका लागि प्रदेश सरकार गम्भिर रहेको बताउनु भयो ।
सोही क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जनताले इमान्दारिताका साथ काम गर्न थाले १० वर्ष भित्रमा जनता कार चढेर हिड्ने कुराको ठोकुवा गर्नुभयो ।