कर्णालीमा वार्षिक ६ हजार रोजगारी सिर्जना गरिने

सुर्खेत, १२ असोज (जागरण) । कर्णालीमा युवा पलायन रोक्न बार्षिक ६ हजार रोजगारी सिर्जना गरिने भएको छ । छाक टार्नकै लागि कालापहाड र खाडी मुलुकमा मजदुरीका लागि जान बाध्य युवाहरुलाई स्वरोजगार बनाउन प्रदेश सरकारले यस्तो योजना अगाडी सारेको हो ।
जसअन्तर्गत हरेक वर्ष ६ हजार यूवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम संचालन गर्न लागिएको छ । मजदुरीका लागि विदेश जान बाध्य र गाउँमै वेरोजगार रहेका यूवालाई विभिन्न सीपमार्फत स्वरोजगार बनाइने भएको हो ।
यो आर्थिक वर्षबाटै युवालाई विभिन्न सीपमुलक तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्न लागिएको छ ।
यस्तै यहाँका सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र क्षमता अभिवृद्धि तालिममार्फत यूवाहरुलाई रोजगारी दिनेगरी बजेट विनियोजन गरिएको छ ।
यसका लागि युवा स्वरोजगारको नीतिसमेत पारित भइसकेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्लाहरुबाट रोजगारीका लागि भारत लगायतका तेस्रो मुलुकमा जाने युवाहरुको संख्या बढ्दो छ ।
युवा जनशक्ति विदेश पलायन हुने र यसले प्रदेशको समृद्धिमा नै बाधा पुगेको भन्दै स्वदेशमा नै युवालाई रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको तयारी छ ।
यसका लागि सामाजिक विकास मन्त्रालयले यूवा लक्षित स्वरोजगारका कार्यक्रम ल्याएको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो ।