सुर्खेत, ११ चैत (जागरण) । अब कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक चलाउन नपाईने भएको छ ।
प्रदेश सरकारले पर्सी मंगलबारदेखि सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने भएको हो । कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउने र सेवाग्राहीको काम नगर्ने गुनासो बढेपछि सरकारले फेसबुक बन्द गर्न लागेको हो ।
सरकारी कार्यालयमा फेसबुक बन्द गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले प्रक्रियासमेत अगाडि बढाएको छ ।
सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी तथा नीजि इन्टरनेट सेवा प्रदायक कम्पनीसँग आज छलफल गर्नुभएको छ ।
सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न र कर्मचारीलाई कार्यालय समयमा जिम्मेवार बनाउन फेसबुक बन्द गर्न लागिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
पहिलो चरणमा पर्सी मन्त्रालयहरुमा फेसबुक बन्द हुनेछ । त्यसपछि प्रदेशका अन्य सरकारी कार्यालयक संस्थानहरुमा पनि फेसबुक चलाउन प्रतिवन्ध लगाईने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अब सरकारी कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म फेसबुक बन्द हुनेछ ।
मुख्यमन्त्री शाहीले योजना कार्यान्वयन गरिने र त्यसलाई कडाईका साथ अनुगमन समेत गरिने जानकारी दिनुभयो ।