समृद्धिका कुराः ठेलाबाटै मालामाल (अडियाेसहित)

मुना हमाल । सुर्खेत, १२ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर ३ का लोकप्रसाद ज्ञवालीलाई फलफुल बेच्न भ्याइनभ्याई छ । विगत ८ वर्षदेखि वीरेन्द्रनगर स्थित मंगलगढी चोकमा ठेलामा फलफुल राखेर बेच्दै आउनु भएका उहाँलाई कसैसंग बोल्ने फुर्सद छैन । ग्राहकलाई फलफुल बेच्दैमा उहाँको दिन बित्छ । बिहान ५ बजे उठेर व्यापार व्यवसायमा जुट्ने र राती ८ बजे मात्र उहाँ घर फर्कनुहुन्छ ।
आम्दानीका लागि ठूलै लगानी गर्नुपर्छ भन्ने छैन । इच्छा, मेहनत र जाँगर भए सानोतिनो लगानी बाटै धेरै आम्दानी गर्न सकिन्छ । यस्तै गतिल्लो उदारण दिनु भएकोे छ, उहाँ । कञ्चनपुरको महेन्द्रनगरबाट दाजु भाउजुलाई भेट्न सुर्खेत आउनुभएका उहाँले यही ठेलामा फलफुल व्यवसाय गर्ने योजना बनाउनुभयोे । उहाँसंग व्यवसाय सुरु गर्न पैसा थिएन । दाजुभाउजुले ऋणको व्यवस्था गरिदिनुभयो । सूरुमा १६ हजार रुपैँयाँ ऋण गरेर ठेलामा फलफुल बेच्न सुरु गर्नुभएका ज्ञवाली अहिले राम्रो आम्दानी गरिरहनु भएको छ ।


पहिला ज्ञवालीलाई परिवारको खर्च धान्न भारत जानुपर्ने बाध्यता थियो । खेतिकिसानीबाट वर्षको तिनचार महिना मात्र खानलाउन पुग्थ्यो । उहाँ वर्षको तिनचार महिना भारतमा मजदुरी गर्न जानुहुन्थ्यो । ज्ञवालीले अहिले यसै व्यवसायबाट घरखर्च चलाउने, छोराछोरीको स्कुलको खर्च तिर्ने सबै जुटाउनुहुन्छ । उहाँका एक छोरी अहिले स्नातक तहमा अध्ययन गर्दैछिन भने, अर्की छोरी ११ कक्षामा अध्ययन गर्दैछिन् । छोरा अहिले कक्षा ९ मा अध्ययन गर्छन् । ज्ञवालीले यति मात्र होइन यसै व्यवसायको कमाईबाट सुर्खेतमा घर पनि किन्नुभयो । उहाँले फलफुल बेचेरै अहिले मासिक २० देखि ३० हजारसम्म आम्दानी गर्नुहुन्छ ।
आफ्नो परिवारसंगै बसेर व्यापार व्यवसाय गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । सूरुसरुमा ठेलामा फलफुल बेच्न बस्दा लाज माने पनि विस्तारै पछि उहाँलाई व्यवसाय गर्न सहज भयो । अहिले उहाँ आफ्नो व्यापार व्यवसायप्रति सन्तुष्टी हुनुहुन्छ ।
आफ्नै ठाउँमा मन लगाएर गरे के हुँदैन् र ? मेहनतबाट जीवनको रंग बदल्न सकिन्छ भन्ने गतिलो उदारण ज्ञवालीले दिनुभएको छ । काम पाएनौँ भनेर विदेशतिर जाने युवाहरुलाई आफ्नै ठाउँमा मेहेनत र लगनशिल भएर काम गर्न उहाँ सुझाव दिनुहुन्छ ।
सरकारले राम्रोसंग व्यवस्थि नगर्दा युवाहरु हतोसाहित भएर विदेश जान थालेको उहाँको भनाई छ । सरकारले आफ्नै ठाउँमा दुुःख गर्ने युवाहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने सरकारलाई उहाँको सुझाव छ ।
ठेलामा फलफुल बिक्रि गरेर मनग्गे आम्दानी गरिरहनु भएका लोकप्रसाद ज्ञवाली समाजमा एउटा उदारणका पात्र हुनुहुन्छ । यसरी आफ्नै ठाउँमा सानोतिनो व्यवसाय गरेर सन्तुष्टी हुन सकिन्छ भन्ने ज्ञान ज्ञवालीबाट सिक्न सके आर्थिक अभावकै कारण निभेको चुल्हो बाल्न ठूलै लगानी गर्नुपर्छ भन्ने छैन ।
अडियो सुन्नुहोस्ः