मुख्यमन्त्री शाही भन्छन्ः चिन भ्रमण उपलब्धीमुलक, अब सरकार आफैले हवाई सेवा संचालन गर्ने

सुर्खेत, १३ असोज (जागरण) । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो चिन भ्रमण द्धिपक्षिय हित र प्रदेशको विकासका लागि उपलब्धीमुलक भएको दाबी गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले प्रदेशको विकासका लागी सहयोग गर्न चिन सरकार तयार रहेको पनि प्रस्ट पार्नुभयो ।
एक साताको चिन भ्रमणपछि प्रदेश राजधानी फर्किएलगत्तै आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको जानकारी दिनुभयो ।
हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाई छ । मुख्यमन्त्री शाहीले चिन भ्रमणमा कर्णाली एअरलाईन्स स्थापना, पर्यटन पुर्वाधारको विकास, जडीवुटी प्रशोधन, जलविद्युत विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माण लगायतका विषयमा पनि छलफल भएको बताउनुभयो ।
चिन भ्रमणका क्रममा द्धिदेशीय सिमा नाका निर्माणका वारेमा पनि चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको मुख्यमन्त्री शाहीको भनाई छ ।

सरकार आफैले हवाई सेवा संचालन गर्ने
कर्णाली प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले ‘कर्णाली एयर’का नामबाट हवाई सेवा सुरु गर्ने जानकारी दिएको हो । मुख्यमन्त्री शाहीले आन्तरिक तथा अन्तर प्रदेश उडानका लागि हवाई सेवा सुरु गर्न लागिएको बताउनुभयो ।
‘मध्यमखाले दुई वटा जहाज किन्नका लागि चिनियाँ सरकार र त्यहाँका व्यवसायीहरूसँग छलफल भएको छ’ मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘संघीय सरकारमार्फत सम्झौता गरेर काम अघाडि बढाउँछौं ।’ मुख्यमन्त्री शाहीले कर्णालीमा दुई वटा विमानस्थल निर्माण गर्न र हवाई जहाज खरिदका लागि सहयोग गर्न चीन सरकार र त्यहाँका व्यवसायीहरू छलफल गरिएको बताउनुभयो ।
साथै उहाँले कर्णाली प्रदेशमा विमानस्थल निर्माणका लागि पनि चिनियाँ प्रतिनिधिसँग छलफल भएको बताउनुभयो । सुर्खेत विमानस्थल स्तरोन्नति र मदाने चौरमा प्रस्तावित क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको प्रतिवद्धता व्यक्त भएको मुख्यमन्त्री शाहीको भनाइ छ ।