क्षेत्रीय अस्पतालको सेवा सहज नभएको गुनासो

प्रभा रावत, मुना हमाल ।

सुर्खेत, १२ चैत (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सहज रुपमा सेवा नपाएको गुनासो गरेका छन् ।
यो प्रदेशकै ठुलो सरकारी अस्पताल भएपनि बिरामीले आवश्यक विशेषज्ञ सेवा पाउन सकेका छैनन् । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले उपचार नपाएर फर्कनुपरेको समेत गुनासो गरेका छन् ।
लामो समयसम्म लाईनमा कुर्नुपर्ने, विशेषज्ञ सेवा उपलब्ध नभएको, सामान्य उपचारका लागि पनि सुर्खेतबाहिर जानुपर्ने बाध्यता रहेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले समेत रुखो व्यवहार गर्ने गरेको विरामीहरु बताउँछन् ।
अस्पताल प्रशासनले पछिल्लो समय सेवा विस्तार र परिवर्तन भएको दाबी गरिरहेको छ । अस्पतालको भौतिक संरचनासमेत विस्तारको क्रममा छ । तर बिरामीहरु भने आफूूहरुले परिवर्तनको अनुभुति गर्न नपाएको गुनासो गरिरहेका छन् ।

फाइल फाेटाे ।

कालिकोटको पचाल झरना गाउँपालिकाका नयाँ सेजुवालले भिरबाट खसेका आफन्तलाई उपचारका लागि क्षेत्रीय अस्पताल ल्याएको भए पनि दुई दिनसम्म डाक्टरको मुख देख्न नपाएको गुनासो गर्नुभयो ।
सेजुवालले जागरणसँग भन्नुभयो, ‘डाक्टर तीन बजे आउँछन् भन्छन् तर आकस्मिक विरामीलाई त उपचार तत्काल हुनुपर्छ नि डाक्टर कुरेर हुन्छ र ?’
नाम दर्ताका लागि लाइन लाग्दा लाग्दै दिन वित्ने गरेको बताउँदै पाँच बज्नासाथ डाक्टर गइहाल्ने गरेका वीरेन्द्रनगर नगरपालिका फलाँटेकी देवीसरा चौधरीले बताउनुभयो ।
बिरामी र तिनका आफन्तले क्षेत्रीय अस्पतालमा यो समस्या भोगिरहँदा अस्पताल विकास समितिले भने अब सेवालाई सहज बनाईने जनाएको छ । हालैमात्र अस्पताल विकास समितिमा नयाँ नेतृत्व आएको छ ।
क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायण सापकोटाले अस्पतालमा डाक्टर, नर्शलगायतले गर्ने व्यवहार, मनोविमर्श लगायतले पनि ठूलो असर पार्ने भएकाले अस्पतालमा नीति बनाएरै सुधारका काम गर्नेगरी लागिरहेको बताउनुभयो ।
विरामी र विरामीका आफन्त अस्पताल हाताभित्र प्रवेश गर्दा नअल्मलिने वातावरण बताउने प्रयास भइरहेको सापकोटाले बताउनुभयो ।