कर्णालीको संसद वैठक असोज २३ गते बस्ने

सुर्खेत, १६ असोज (जागरण) । करिब डेढ महिनासम्म स्थगित भएको कर्णाली प्रदेशको संसद बैठक यही असोज २३ गते बस्ने भएको छ ।
सरकारले प्रदेशसभालाई पर्याप्त काम दिन नसक्दा गत साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको वैठक २३ गते दिउँसो १ बजे बस्ने भएको हो ।
प्रदेश सभाका निमित्त सचिव दिनेश भट्टले प्रदेशसभाले यसअघि जम्मा २० वटा विधेयकमध्ये १३ वटा विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ती १३ वटै विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरी ऐन बनिसकेको छ ।
अन्य ५ वटा विधेयक समितिमा दफावार छलफलका लागि गएका छन् भने दुईवटा विधेयक संसदमा पेश हुन बाँकी रहेको निमित्त सचिव भट्टले बताउनुभयो ।
२३ गतेदेखि बस्ने संसद बैठकमा ती दुई विधेयक पेश हुने उहाँको भनाई छ । उहाँका अनुसार हाल सामाजिक विकास समितिमा २ विधेयक छलफलका लागि गएका छन् ।
प्रदेश सभाको बैठक यसअघि सिँचाइ डिभिजन कार्यालयको सभाहलमा बस्दै आएको भएपनि अब बस्ने बैठक भने संसदको आफ्नै भवनमा बस्ने संभावना रहेको प्रदेश सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।
सभामुख शाहीले असोज २३ गते बस्ने बैठकका लागि कार्यसूची तय नभएको बताउनुभयो । उहाँका अनुसार असोज २२ गते संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाईएको छ ।