सुर्खेत, १६ असोज (जागरण) । कर्णालीमा संसदीय समितीहरु सक्रिय बन्न थालेका छन् । प्रदेश संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिले सरकारलाई तत्काल बजेट कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
हालसम्म बजेट कार्यान्वयनको अवस्था निराशाजनक रहेको भन्दै आवश्यक संरचना बनाएर बजेट खर्च गर्न प्रदेश सरकारलाई अर्थ समितिले निर्देशन दिएको हो ।
अर्थ समितिको अघिल्लो बैठकले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारले खर्च गरेको बजेटको हिसाव र कामको प्रगति विवरण पेश गर्न निर्देशन दिएको थियो ।
उक्त निर्देशनपछि प्रदेश सरकारका सात वटै मन्त्रालयले समितिको बैठकमा मन्त्रालयगत खर्च र प्रगतिको विवरण पेश गरेका छन् ।
अर्थ समितिको निर्देशनपछि केही मन्त्री र सबै मन्त्रालयका सचिवहरुले समितिको बैठकमा पुगेर जवाफ दिएका छन् । मन्त्रालयले पेश गरेको विवरणमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।
अधिकांश मन्त्रालयले कर्मचारी र आवश्यक संरचनाको अभावमा बजेट निकाशा र कार्यान्वयन नै गर्न नसकिएको जवाफ अर्थ समितिलाई दिएका छन् ।
अर्थ समितिले भने तत्काल बजेट कार्यान्वयन गर्न र आवश्यक संरचना स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।