नलसिंगाड आयोजनाको डिपिआर निर्माणमा म्याद थप

जाजरकोट, १६ असोज (जागरण) । जलाशययुक्त जाजरकोटको नलसिंगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको म्याद थपिने भएको छ । दुई महिना बाँकी रहँदा ५० प्रतिशत मात्रै काम भएपछि म्याद थप्ने तयारी थालिएको हो ।
चार सय १० मेगावाट क्षमताको नलसिंगाड जलविद्युत् आयोजनाको डिपिआर निर्माणका लागि गत वैशाखमा स्मेक, एमडब्लुएच र उदय कन्सल्ट जेभीलाई जिम्मा दिइएको थियो । यही कात्तिक मसान्तभित्र डिपिआर निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि असोज दोस्रो सातासम्म आधा काम मात्रै भएको छ । ‘म्याद सकिन डेढ महिना मात्रै बाँकी रहँदा ५० प्रतिशत काम भएको छ,’ आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामकाजी थापाले भन्नुभयो ।
जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा बन्न लागेको जलविद्युत् आयोजनाका लागि डिपिआर निर्माणको काम भइरहेको हो । समयमै नसकिने देखिएको बताउँदै आयोजनाका प्रमुख कार्यकारी अधिकृत थापाले भन्नुभयो, ‘नयाँ सम्झौता हुँदैन, पुरानै सम्झौताअनुसार काम गर्न केही समय दिइन्छ ।’ डिपिआर निर्माणमा ९० करोड लाग्ने जनाएको छ ।

कहाँ पुग्यो डिपिआरको काम ?
नलसिंगाडकाे डिपिआर निर्माणअन्तर्गत जलविज्ञान मापन आंकलन, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटिमाइजेसन, फिल्ड सर्भे, सम्भाव्यता अध्ययनलगायतका काम नसकिएको आयोजनाले जनाएको छ । डिपिआरका लागि दल्लीमा सुरुङ खन्ने काम पनि सडक भत्किएपछि तीन महिनादेखि रोकिएको छ ।
आयोजना निर्माणस्थलमा रहेका इन्जिनियर पदम थापाका अनुसार, टोपोग्राफिकल सर्भे, चट्टानसम्बन्धी अध्ययन गर्ने सिस्मोलोजिकल सिस्टमको काम भएको छ । उनका अनुसार, १५ मध्ये तीनवटा ड्रिलिङ प्वाइन्ट बनाउन बाँकी छ । त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अझै सुरु भएको छैन ।
चार वर्षमा बिजुली बाल्ने लक्ष्य
जलाशययुक्त नलसिंगाड आयोजनाको डिपिआर निर्माणमा म्याद थप आयोजनाको डिपिआर निर्माणमा म्याद थप जलविद्युत् आयोजना निर्माणको काम चार वर्ष्भित्र सम्पन्न गर्ने योजना छ । जसअनुसार २०८० भित्र बिजुली बाल्ने लक्ष्य आयोजनाले लिएको छ । तर, डिपिआरमै भएको ढिलाइले आयोजना पनि लम्बिने भएको छ ।
आयोजनामा भएको ढिलाइले प्रमुख कार्यकारी अधिकृतसमेत फेरिँदै आएका छन् । दुई वर्षको अवधिमा तीनजना कार्यकारी अधिकृत फेरिएका छन् । मोतीबहादुर कौर र नरेन्द्रसिंह भण्डारीले आयोजनालाई गति दिन नसकेको जनाउँदै रामकाजी थापालाई सिइओ बनाइएको छ ।

कर्णाली टुडे ।