ठुला जहाज अवतरण गर्नका लागि विमानस्थल खोजिने

सुर्खेत, १४ चैत (जागरण) ।
सुर्खेतबाट काठमाण्डौँ सिधा हवाई उडानका लागि प्रदेश सरकारले आवश्यक तयारी सुरु गरेको छ ।
यही चैत २१ गतेबाट काठमाण्डौँका लागि उडान सुरु हुने भएपछि कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार सुर्खेत विमानस्थलको निरिक्षण गनुभएको छ ।
सो अवसरमा उहाँले विमानस्थलका कर्मचारीहरुसंग विमानस्थलमा सुरक्षाको अवस्था, भौतिक पूर्वाधार र जनसक्तिको बारेमा जानकारी लिनु भयो ।
सुर्खेत विमानस्थलको विस्तार बारे स्थलगत अनुगमन गर्नुभएका मन्त्रीबुढाले अब सुर्खेतमा ठुला जहाँज अवतरण गराउन विमान स्थलको विकल्प खोजिने बताउनु भयो ।
प्रदेश सरकारले आउँदो बैशाखदेखि राराकर्णाली महोत्सवको आयोजना गरेको छ । उक्त महोत्सव अवधिभर पर्यटकलाई सहज रुपमा हवाई माध्यमबाट ल्याउनका लागि आवश्यक तयारी भइरहेको समेत मन्त्री बुढाले जानकारी दिनु भयो ।
कर्णालीमा उडान गर्ने जहाँज हाल नेपालगञ्जमा रहने गरेको भन्दै उहाँले अब सुर्खेतमै राख्न निर्देशन दिइएको बताउँनु भयो ।
सुर्खेत विमानस्थल साँघुरो भएपनि १८ सिट क्षमताका जहाँजलाई अवतरण गर्न कुनै समस्या नहुने नागरिक उड्यन प्राधिकरण सुर्खेतले जनाएको छ ।
प्राधिकरणका प्रमुख विनोदकुमार पन्तले विमान स्थल नजिकै अग्ला डाँडा रहेकाले ठुला जहाँज अवतरण सम्भव नभएको बताउनु भयो ।