सुर्खेत, १४ चैत (जागरण) ।
पश्चिम सुर्खेतको बाबियाचौरमा एसईई परीक्षा दिइरहेकी एक छात्रा मृत भेटिएकी छन् ।
पञ्चपुरी नगरपालिका ३ की १८ वर्षीया गौरीकला रोकाया बाबियाचौरस्थित डेरामा आज बिहान मृत अवस्थामा भेटिएकी हुन् ।
गौरी सूर्यप्रकाश मावि पलैंटेकी परीक्षार्थी हुन् । उनको टाउकोको बायाँ साइड, खुट्टामा चोट लागेको छ । अबेरसम्म ढोका नखुलेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या हुन सक्ने अनुमान गरेको छ । गौरीको हत्या गरेको आशंकमा प्रहरीले बाबियाचौरबाट चार जनालाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको सुर्खेतका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
बाबियाचौरमा परिक्षा दिन पुगेकी उनको हत्या गरेर कोठामा छाडिएको हुन सक्ने प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि अनुसन्धानमा सहज हुने उहाँले बताउनुभयो ।
यसैबिच, घटनाको सुर्खेतस्थित विभिन्न संघसंस्थाहरुले भत्र्सना गरेका छन् । आधा दर्जन बढी संघसंस्थाहरुले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा यस्ता निन्दनीय घटनाबाट महिला, किशोरीहरु असुरक्ष्ति रहेको पाइएको भन्दै सुरक्षा संयन्त्र कमजोर भएको जनाइएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा आवाज, सामुदायिक सुधार संस्था, नवज्योति केन्द्र, केड, महिला मानवअधिकार रक्षक संजाल, दलित महिला संघ, वातावरण सुधार समाज र वाम रहेका छन् ।