सुचना टाँसेर संसद बैठक स्थगित

सुर्खेत, २४ असोज (जागरण) । कर्णालीमा प्रदेश संसदको बैठक सुचना टाँसेर स्थगित गरिएको छ । स्थगित भएको दुई महिनापछि हिजो बैठक बोलाइएको थियो ।
कांग्रेसको अवरोधका कारण बैठक आज दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको थियो । तर कांग्रेससँग सहमति नजुटेपछि आज पनि सुचना टाँसेर बैठक स्थगित गरिएको छ ।
बैठक संचालनका लागि भएका प्रयासहरु असफल भएपछि सुचना टाँसेर बैठक नै स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रतिपक्ष दल काग्रेसले संसदमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएको छ । तर मुख्यमन्त्री महेन्द्रबहादुर शाही संसद सुचारु गराउने भन्दै अन्य काममै अल्झिएको सांसदहरुले गुनासो गरेका छन् ।
कांग्रेसका सांसदहरुले बजेटको रातो किताव उपलब्ध गराउनुपर्ने, अत्यावश्यक विधेयकहरु संसदमा पेश हुनुपर्ने र सरकारका कामबारे मुख्यमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखेका छन् । जसका कारण संसद बैठक चल्न सकेको छैन । बैठक शुक्रबार सम्मका लागि स्थगित भएको गरिएको छ ।