सरकारलाई कस्दै संसदीय समिती, हालसम्मको खर्च विवरण पेश गर्न अल्टिमेटम

सुर्खेत, २४ असोज (जागरण) । कर्णालीमा प्रदेश सरकारको खर्चमाथि आशंका गर्दै संसदीय समितिहरुले छानबीन थालेका हुन् । बजेट कार्यान्वयन र खर्चमाथि आशंका गर्दै संसदको सार्वजनिक लेखा समितिले हालसम्मको खर्च बिवरण पेश गर्न प्रदेश सरकारलाई अल्टिमेटम दिएको छ ।
बजेटको कार्यान्वयन र खर्चको प्रक्रियामा पारदर्शिता नभएको भन्दै संसदीय समितिहरुले सरकारलाई कस्न सुरु गरेका छन् । संसदको अर्थ समितिले यसअघि नै सरकारसँग खर्चको सम्पूर्ण बिवरण मागेर छानबिन गरिरहेको छ ।
यस्तै लेखा समितिले पनि सरकारको खर्चमा आशंका गर्दै हालसम्मको खर्च बिवरण उपलब्ध गराउन निर्देशन दिएको हो । समितिको आज सम्पन्न बैठकले प्रदेश सरकारका सात वटै मन्त्रालयले हालसम्म गरेको खर्चको हिसाव १५ दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
मुख्यगरी गत बैशाखमा सम्पन्न कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा भएको खर्चमाथि संसदीय समितिले प्रश्न उठाएका छन् । पर्यटन वर्षको उद्घाटनमा मात्र प्रदेश सरकारले करिब ६४ लाख बजेट खर्चेको छ ।
सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले सरकारको कामगर्ने शैली सन्तोषजनक नभएको र खर्चमा पनि पारदर्शिता नदेखिएपछि आफूहरुले सरकारसँग हालसम्मको खर्च बिवरण मागेको बताउनुभयो ।