काग्रेस नेता बास्ताेलकाे निधन

सुर्खेत, २८ असोज (जागरण) ।

नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राति ७४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको निधन गए राति ९ बजेर २० मिनेट जाँदा भएको हो ।
मष्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बाँस्तोलाको अवस्था हिजोदेखि गम्भीर बनेको थियो ।
हिजो बिहानदेखि बाँस्तोलाको स्वास्थ्य अवस्था झन् कमजोर भएपछि उहाँलाई न्यूरो अस्पताल बाँसबारी लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि ललितपुरको खुमलटारमा रहेको निवासमा ल्याइएको थियो ।


उहाँका श्रीमती र दुई छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेको र आज आइपुग्ने पारिवारिक स्रोतले बताएको छ । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई मष्तिष्कघात भएको थियो ।
०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला ०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।