किशोरीको हत्या प्रकरणः प्रहरीसहित तीन जना पक्राउ

सुर्खेत, १४ चैत (जागरण) ।
किशोरीको हत्या आशंकामा सुर्खेतमा एकजना प्रहरीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा मंगलवार एसईई परीक्षा दिन आएकी विद्यार्थी मृत फेला परेकी थिइन् ।
उनको हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले अस्थायी ट्राफिक पोस्ट बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पञ्चपुरी नगरपालिकास्थित चौर घर भएकी १८ वर्षिया गोरीकला रोकाय एसईई परीक्षा दिनका लागि बाबियाचौरमा डेरा लिएर बस्दै आएकी थिइन् । हिजो उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
उनको डेरा बाहिर नै हत्या गरेर कोठामा छोडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशंकामा पञ्चपुरी नगरपालिका–८ का लक्ष्मीप्रसाद बास्तोला र उनका दाइ खुमप्रसाद बास्तोलालाई पनि नियन्त्रणमा लिएको अाज पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ ।
पक्राउ परेका बास्तोलाले ट्राफिक प्रहरी कोइरालाको आग्रहमा आफूले गोरीकलालाई भेट गराइदिएको बयान प्रहरीलाई दिएका छन् ।
गोरीकला र प्रहरी जवान कोइराला मध्यरात साढे १२ बजे डेरादेखि टाढा रहेको चौरमा बसेको र सोही क्रममा गोरीकलामाथि यौनजन्य अपराध भएको प्रहरीको प्रारम्भिक अनुसन्धाले देखाएको छ ।
सुर्खेतका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले घटनाको अनुसन्धान भइरहको र दोषीलाई कानुनी कारबाही हुने बताउनुभयो ।
एसपी चतुर्वेदीले घटनामा अरु पनि संलग्न थिए कि भन्नेबारेमा पनि थप अनुसन्धान चलिरहेको बताउनुभयो ।
घटना यही कारणले भयो भन्ने बारे अँझै भन्न नसकिने भन्दै उहाँले आफुहरुले निरन्तर अनुसन्धान गरिने बताउनुभयो ।