श्रमप्रति सम्मान बढाउन कर्णालीका मन्त्रीहरुले श्रमदान गर्ने

सुर्खेत, १४ चैत (जागरण) ।
कर्णाली प्रदेशका मन्त्रीहरुले बुलबुले उद्यान क्षेत्रमा श्रमदान गर्ने भएका छन् । प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले उद्यान क्षेत्रको निर्माणधीन पर्खालमा भोली (विहीबार) मन्त्रीहरुले श्रम गर्ने भएका हुन् ।
कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार भोली बिहान सात बजेदेखि बुलबुले उद्यान क्षेत्रको पर्खाल निर्माणको काम गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले श्रमप्रतिका सम्मान जागृत गर्न हरेक महिनाको १ र १५ गते जनतासँगै सार्वजनिक काम गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुलबुले तालको पर्खाल निर्माणसँगै सरसफाई गरिने भएको हो ।
सरकारका प्रवक्ता बिमला केसीले श्रमको सम्मान बढाउन आफुहरुले जनतासँगै श्रम गर्न लागेको बताउनुभयो ।